काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेलि एयर एम्बुलेन्समा सघाउन नेपाली सेनालाई आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरूसहित सेनाद्वारा सञ्चालित स्वास्थ्यसेवाका प्रमुखहरूसँगको बैठकमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।
आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्धारका लागि प्रशंसा गर्दै अन्य नागरिकको उद्धारका लागि पनि सघाइदिन आग्रह गरे । एयर एम्बुलेन्स नभएकाले अन्य नागरिकको उद्धारका लागि पनि सघाउन नेपाली सेनालाई मन्त्री पौडेलले आग्रह गरेका हुन् ।
‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौँ,’ उनले भने, ‘यसबाट उपचार र उद्धार अभावमा अप्ठेरोमा परेकाको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो ।’
उनले सरकारी अस्पतालमा पालो कुर्न पर्ने अवस्थामा रहेका बिरामीलाई सुरक्षा निकायका अस्पतालमा अपरेसन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न पनि प्रस्ताव गरेका छन् ।
‘संघीय अस्पतालहरूमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।’
छलफलका क्रममा मन्त्री पौडेलले आम नागरिकका लागि खुला नभएका सेवासमेत अन्य सरकारीसरह सरकारी दररेटमा उपलब्ध गराउन सकिने गरी कसरी काम गर्न सकिन्छ भनेर समेत सुझाव माग गरेका थिए ।