काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताएका छन् । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताए।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद रिजालले भने, “चालु आर्थिक वर्षको बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँड्नेजस्तो भयो । संघ सरकारले बनाउने बजेट वितरणमुखी भयो ।” उत्पादन बढाउने र न्यायोचित वितरण गर्ने कुरालाई बजेटको प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ ।
संसद्को प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । आज प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण केही समय बैठक स्थगित भएको थियो । सांसद रिजालले संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउन सबै दल जिम्मेवार हुनुपर्ने बताए । “संसद् भनेको नीतिको थलो हो, जिद्दीको थलो होइन । संसद् नियमनको थलो हो, तथानामको थलो होइन”, उनले भने । जिम्मेवार भएर आफ्ना अभिव्यक्ति राख्नुपर्ने र संसद्लाई मर्यादित बनाइनुपर्ने उनको भनाइ छ ।







