काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) युवराज ज्ञवालीले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानन्यायाधीश, मन्त्री गुरुङ र उपाध्यक्ष ज्ञवाली आज अपराह्न उक्त अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।
उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि मन्त्री गुरुङले आफूलाई चिकित्सकहरूले दुवै जनाको स्वास्थ्य सामान्यतर्फ उन्मुख भएको जानकारी दिए । शनिबार पर्यटन प्रवर्द्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका थिए । उनीहरू दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।