काठमाडौँ । सोमबारदेखि सुरु अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गर्यो ।
११औँ मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल साबित भयो ।
मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट हेडर गोल गर्दै विमलाले नेपाललाई खेलमा अग्रता दिलाएकी थिइन् ।
खेल अवधिभर किर्गिस्तानलाई दबाबमा राखेको नेपालले त्यसपछि भने गोल थप्न सकेन । कम्तीमा आधादर्जनपटक गोलको नजिक पुगेर पनि नेपाली स्ट्राइकर बललाई जाली चुमाउन चुके ।
यो जितसँगै नेपालले स्पष्ट तीन अंक हासिल गरेको छ । यसअघि आज दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराउँदै विजयी सुरुवात गरेको थियो ।