काठमाडौँ । प्रकृति लम्सालको मृत्यु प्रकरणबारे नेपाल विद्यार्थी संघ पद्मकन्या बहुमुखी क्याम्पस इकाईले सरकार र नेपाल स्थित भारतीय दूतावासको ध्यानाकर्षण गराएको छ ।
लम्साल मृत्यु प्रकरणबारे सत्य तथ्य छानबिन गर्न माग गरी नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै गर्दा नेपाली विद्यार्थीहरूलाई निर्वासित (डीपोर्ट) गरी नेपाल पठाएको घटनाको कडा रूपमा निन्दा गरेको हो । एकाइ कमिटी अध्यक्ष पुर्णिमाया परियारले एक विज्ञप्ति जारी गर्दै घटनाको कडा रूपमा निन्दा गरेकी हुन् ।
‘भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको खबरले स्तब्ध भएका छौँ । मृतक प्रकृति लम्साल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । परिवारमा धैर्य धारण गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन्, ‘ नेविसंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आत्महत्या भनिएको उक्त घटनाको सत्य तथ्य छानबिन गर्न माग गरी नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै गर्दा नेपाली विद्यार्थीहरूलाई निर्वासित (रिपोर्ट) गरी नेपाल पठाएको घटनाको कडा रूपमा निन्दा गर्दछौँ । घटनामा संलग्न भएको भनिएका भारतीय विद्यार्थीलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्नुको साटो नेपाली विद्यार्थीहरूमाथि उल्टै गरिएको जघन्य अपराध क्षमामूलक कदापि हुन सक्दैन । यो घटनामा संलग्न अपराधीलाई यथाशीघ्र कारबाही र नेपाली विद्यार्थीहरूको सुरक्षाको जिम्मा वहन गर्न अनुरोध गर्दै नेपाल सरकार र नेपाल स्थित भारतीय दूतावासको ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा यसका विरुद्धमा कडा आन्दोलनका साथ दबाबमूलक कार्यक्रमहरू घोषणा गर्न नेपाल विद्यार्थी संघ बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’