काठमाडौँ । कीट विश्वविद्यालय घटनापछि नेपाल फर्कन लागेका विद्यार्थीहरूलाई कलकत्ता महावाणिज्यदूतावासले सहजीकरण गरेको छ। भुवनेश्वरबाट कोलकत्ता आइपुगेका तर टिकट नपाएका केही नेपाली विद्यार्थीहरूलाई महावाणिज्यदूतावासले आवश्यक टिकटको व्यवस्था गरी नेपाल फर्किने प्रक्रिया सहज बनाएको हो।
नेपाल फर्कने क्रममा कलकत्तामा रोकिएका विद्यार्थीहरूलाई जलपाईगुरीसम्मको टिकटको व्यवस्था गरिएको महावाणिज्यदूतावासले जनाएको छ। महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपाली विद्यार्थीहरूले कुनै कठिनाइ भोग्नु परे आफूलाई सिधै सम्पर्क गर्न सक्ने जानकारी दिएका छन्।
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि तनाव बढेको थियो । बी–टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको थियो ।
अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेसँगै कतिपय विध्यार्थीहरु कलेज छोडेर बाहिरिएका थिए ।