काठमाडौँ । यो साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशत बढेको छ ।
गत साता २७४३ अंकमा रहेको बजार यो साता २८१५ मा पुग्यो । यो साता कारोबार भएका चारै दिन बजार बढ्यो । बुधबार सार्वजनिक बिदाका कारण बन्द रह्यो । पहिलो दिन आइतबार ११.६६ अंक बढेको बजार सोमबार ३.३५, मंगलबार ७.१३ र बिहीबार ४९.१५ अंक बढ्यो ।
यो साता कारोबार रकम पनि उल्लेख्य रह्यो । औसत दैनिक १० अर्ब ९७ करोडको कारोबार भयो । आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ११ अर्ब ८ करोड, मंगलबार ९ अर्ब ९० करोड र बिहीबार ११ अर्ब ३९ करोडको भयो ।
छिमेकी मुलुक भारतको बजार यतिबेला घट्दो क्रममा देखिएको छ । तर यहीँ बेला नेपालको बजार बढिरहेको छ । भारतीय बजार ५ महिनामै १४ प्रतिशतले घटेको छ । ५ महिनाअघि ८५,८३६ अंकमा रहेको बीएसई सेन्सेक्स हाल ७३,६०० हाराहारी अंकमा झरेको छ ।