भैरहवा । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुद्घाटन गरेका छन् ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले नाकामा बनेका पूर्वाधारहरूले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रूपमा स्थापित गरेको बताए । मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उनले सेवा प्रवाह चुस्त हुनुपर्नेमा जोड दिए । “पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पर्यटकको सम्भावना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौँ, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौँ”, उनले भने, “हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रूपमा समृद्धि बनाउँछ ।”
गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूले पर्यटक र आम सेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताए । उनले कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे ।
“अध्यागमन भनेको मुलुकको ऐना हो”, उनले भने, “कर्मचारीहरूले सेवा दिँदा सभ्यता र विनम्रता पूर्वक ढंगले दिनुपर्छ । कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तो बेला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन । यस्तो छुट कसैलाई पनि छैन ।”
उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एक जनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्न सक्ने जनाए । “त्यसैले पर्यटनको विकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गर्न जरुरी छ”, गृहमन्त्री लेखकले भने।
उनले नेपालीहरू संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यवहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए ।
गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको जनाए । ‘यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ”, उनले भने, “परिणाम तत्काल नदेखिए पनि बिस्तारै यसको रिजल्ट आउँछ ।” सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री लेखकको भनाई छ ।
पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उनको दाबी छ । उनले सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको समेत जनाए । “हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौँ, ती अध्यादेशमा समेटिएका विषयवस्तुप्रति सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानु पर्ने धारणा राखिरहेका छन्”, उनले भने। लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दाबी गरे ।
उनी भन्छन्, “कर्मचारीहरूले पर्यटक र आम सेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्छ । कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भएकाले सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आवश्यक छ ।”