काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्ने बताएका छन् ।
सोमवार ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन-२०८१’ लाई सम्बोधन गर्दै उनले महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्न सक्ने विश्वास व्यक्त गरे ।
गौरव सहजै प्राप्त नहुने भन्दै उनले न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने दाबी गरे । उनले आफ्नो तर्फबाट महिलाहरूलाई न्यायालय र न्याय प्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रधान न्यायाधीश राउतले भने, ‘महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्याय प्रणालीको गौरव हुनुपर्दछ । यसमा म तपाईँको लागि कुनै सहयोग गर्नुपरे कुनै कसर बाँकी राख्नेछैन ।’
प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए । उनले न्याय सम्पादनको कार्य जटिल रहेको पनि बताए ।







