काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएकोबारे आफूलाई कुनै जानकारी नरहेको बताएकी छिन् ।
आइतबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफू अनविज्ञ रहेको बताएकी हुन् ।
शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने उनले विश्वास व्यक्त गरिन् ।
‘हिजो बिदाको दिन भयो । त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौँ । समितिलाई जानकारी गराउनेछौँ,’ उनले भनिन्, ‘जसरी यहाँहरूले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो । किनभने उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो । त्यसकारण आज दिउँसोसम्म थाहा होला ।’
किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।
‘मैले अनौपचारिक जानकारी लिने एउटा पक्ष रह्यो । तर मैले विश्वविद्यालयमै जानकारी लिने कुरा रहन्छ । सहकुलपतिले निर्देशन दिन सक्ने भन्ने मात्रै हो । अरु कुराको सबै जानकारी लिने मात्रै हो । जानकारी अनौपचारिक हिसाबले लिन पाइयो,’ मन्त्री भट्टराईले भनिन्, ‘तर औपचारिक हिसाबले कुनै पनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिन । अर्को बैठकमा सबै कुरा बुझेर आइसकेपछि यहाँहरूलाई पुनः जानकारी गराउने प्रतिबद्धता जनाउँछु ।’
उपकुलपति प्रा. डा. बरालले विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिइसकेका छन् । स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनले राजीनामा बुझाएको स्रोतले बताएको छ ।