काठमाडौँ । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले कर्मचारी तथा शाखा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। कार्य प्रस्तुतिको मूल्यांकनका आधारमा अस्पतालका कर्मचारी र शाखालाई पुरस्कृत गरिएको छ।
विदुर नगरपालिका-९ कोलोनीमा रहेको अस्पतालले कार्यक्रमका बीच एक चिकित्सकसहित दुई स्वास्थ्यकर्मी र शाखातर्फ जनरल वार्डलाई पुरस्कृत गरेको हो।
अस्पतालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि विदुर नपा ४ का वडाध्यक्ष नीलमबाबु ढुंगेलले अस्पतालका डा. मनोज महर्जन र स्टाफ नर्स श्रेया श्रेष्ठलाई नगद जनही ५-५ हजार रुपैयाँ तथा उत्कृष्ट विभागतर्फ छनौट भएको जनरल वार्डलाई नगद दुई हजार रुपैयाँका साथ प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरेका छन्।
वडाध्यक्ष ढुंगेलले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी तथा अस्पताल क्रियाशील हुनुपर्ने बताए। गर्मीको मौसम सुरु भएकाले बेलैमा सम्भावित उपचार सेवालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।







