काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाले बन्दुक उठाएकैले नेपालबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन् ।
बाँकेमा बुधबार आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्घाटन गर्दै ‘प्रचण्ड’ले नेपाली महिलाले वीरताको उच्च गाथा कोरेको बताएका हुन् ।
‘माओवादीको जनमुक्ति सेनामा ४०-४५ प्रतिशतसम्म महिला थिए । जहाँ महिलाले कमान्ड गरेको कुनै पनि मोर्चा हामीले हारेनौँ । यो सबैका निम्ति उत्साहको गर्वको कुरा हो,’ ‘प्रचण्ड’ले भने, ‘हामीले युद्धमा सहजै जित हासिल गरेका थिएनौँ, त्यसको पछाडि लडाइँको मोर्चामा जाने महिलाले जगाएको उत्साह थियो, वीरता थियो । त्यही वीरताले यो देशबाट राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गरेको हो । देशमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको हो ।’
राज्यबाट वर्षौंसम्म हेपिएका र दबाइएका महिलाले हातमा बन्दुक बोकेपछि नेपाली इतिहास बदलिएको उनको भनाइ छ ।