काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ खिच्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको छ । सोही क्रममा आज पनि ३० अर्ब खिच्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनामा निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज ३ बजे अनलाइन बोलकबोल गर्न सक्ने उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । यसको साँवा तथा ब्याज भुक्तानी आगामी २१ वैशाखमा हुनेछ ।