काठमाडौँ । करारका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पाइएको छ । सिन्धुली हरिहरपुरगढी गाउँपालिकाले करारमा कार्यरत अधिकृत सातौँ तहका मिलन श्रेष्ठलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । जबकि गाउँपालिकाको प्रशासनिक काम संघीय सरकारले शाखा अधिकृत सरहको व्यक्तिलाई दिने व्यवस्था गरिएको छ । अर्थात् स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृत खटाउने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हो ।
पछिल्लो समय पालिकालाई नै कर्मचारी सरुवा–बढुवाको जिम्मेवारी संघीय सरकारले दिएका कारण पनि यसो हुन पुगेको विज्ञहरू बताउने गर्छन् । पालिकामा अन्य स्थायी कर्मचारी हुँदाहुँदै करारकै कर्मचारीलाई किन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ? भनी प्रश्न समेत उठेको छ । कतिपयले पालिकाका प्रमुख/उपप्रमुखले आफ्नो नजिकको व्यक्तिलाई कानुन विपरीत जिम्मेवारी दिएको बताएका छन् भने कतिपयले पालिकामा अन्य स्थायी कर्मचारी हुदाँहुदै पनि पहुँचको आधारमा करार कर्मचारीलाई अधिकृतको जिम्मेवारी दिएको बताउँछन् ।
यती मात्रै होइन, संघीय सरकारले त्यहाँ पहिला कार्यरत प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको केही समयमै शाखा अधिकृतलाई उक्त पालिकामा पठाएको थियो । तर पनि पालिकाले करार कर्मचारी र संघ सरकारले पठाएको कर्मचारी दुबैलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
करार कर्मचारीले कसरी पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ?
२०८१ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका शाखा अधिकृत दाताराम प्याकुरेलको सरुवा भएपछि करार कर्मचारी अधिकृत सातौँ तहका श्रेष्ठलाई कार्यपालिकाको बैठकले जिम्मेवारी दिएको थियो । पालिकामा शाखा अधिकृतलाई नै संघ सरकारले पठाएको एक वर्ष पुग्न लाग्दासमेत करार कर्मचारीलाई पनि जिम्मेवारी दिइएको छ । अहिले पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा संघ सरकारले पठाएका शाखा अधिकृत दिपेन्द्र कुमार पैकरा र पालिकाले राखेको करार कर्मचारी दुवैले जिम्मेवारी सम्हाली रहेका छन् ।
पालिकाले बरिष्ठतताका आधारमा करारका कर्मचारीलाई जिम्मेवार दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले बताए । उनले भने, “यो निर्णय कार्यपालिकाको बैठकले म पालिकामा उपस्थित हुनु पूर्व नै गरेको हो । तर अहिले पनि बेला बेला म बिदामा बसेको बेला पालिकाले उनलाई नै पालिकाको कामकाजमा लगाउने गरी जिम्मेवारी दिएको छ ।”
पालिकाको कामकाज प्रभावित नहोस् भन्ने हेतुले यस्तो निर्णय पालिकाले गरेको उनले बताए । मन्त्रालयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको करिब डेढ महिनापछि मात्र पालिकामा प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कर्मचारी खटाएको थियो ।