काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण नेपालले भारतबाट रातिको समय आयात गर्दै आएको विद्युत् ठूलो परिमाणमा कटौती भएको छ ।
नेपालले राति ११ देखि बिहान ४ बजेसम्म ५ घण्टा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउने अनुमति पाएको छ । तर, पछिल्लो समय आईपीएलका कारण इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) बजारबाट सीमित मात्रामा मात्रै विद्युत् किन्न सकिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए ।
‘६ सय मेगावाट आयात गर्न पाउने स्वीकृति कायमै छ । तर, आईपीएलका कारण भारतमा विद्युत् उपभोग बढेको छ । त्यसो हुँदा सबैभन्दा उच्च निर्धारित मूल्यमा धेरै क्रेताले बिड गरेका हुन्छन्, उनीहरूलाई दामासाहीले विद्युत् दिइन्छ,’ उनले भने, ‘त्यसअनुसार अहिले हामीले १० देखि २० प्रतिशत अर्थात् ६० देखि १ सय २० मेगावाट विद्युत् मात्रै रातिको समयमा पाइरहेका छौं ।’
तर, दिनको समयमा भने करिब ९ सय मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनले बताए ।
भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमण क्रममा नेपालले राति आयात गर्न पाइरहेको विद्युत मे र जुन महिनासम्मलाई निरन्तरता दिन अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।
भारतबाट राति आउने विद्युत्मै कमी आएपछि औद्योगिक क्षेत्रको विद्युत् कटौती ८ देखि १० घण्टासम्म पुगेको उद्योग संगठनको भनाइ छ ।







