काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा कार्यलाई तीव्रता दिएको छ। सोहीअनुसार बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गरेका छन्।
सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गर्न निर्देशन पनि दिएका छन्। उनले १५ दिन भित्र प्रतिवेदन तयार पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मातहत मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
दीर्घकालीन महत्वका कार्यक्रम, कार्यक्रम कार्यान्वयनको अवस्था, आयोजना बैङ्क कार्यान्वयनको प्रारम्भ एवं आगामी वर्ष संस्थागत गर्ने विषय समेटेर प्रतिवेदन ल्याउन मुख्यमन्त्री शाहले भनेका छन्। यस्तै आयोजनाको डिजाइन, डिपिआरमा एकरूपता कायम गर्ने विषयमा विशेष ख्याल राख्न पनि उनको निर्देशन छ।
यस्तै चालु खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने, प्रदेशको आन्तरिक राजश्व बढाउने, सुशासन, नागरिक सहभागिताका विषयलाई प्रभावकारी बनाउन पनि मुख्यमन्त्री शाहले निर्देशन दिएको सचिवालयले बताएको छ