सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु-३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
चट्याङ लागेर मकालु-३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए । चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्छ ।