काठमाडौँ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको जारी आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने बताएका छन् । परिणाम नआएसम्म आन्दोलनबाट पछि नहट्ने उनको अडान छ ।
आज आन्दोलनकै क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुवेदीले भने, ‘लक्ष्यभेदन नगरेसम्म, अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नभएसम्म हामी आन्दालेनबाट बाहिर जाँदैनौँ ।’
उनले सहमतिहरूलाई ३ वर्गमा बाँडिएको सुनाए । सुवेदीका अनुसार मन्त्री स्तरीय निर्णयबाट हुन सक्ने कुराहरू पहिलो वर्गमा मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्नेलाई दोस्रो वर्गमा र ऐन कानून बनाउनुपर्नेलाई तेस्रो वर्गमा राखिएको छ ।
उनले भने, ‘मन्त्री र मन्त्रीपरिषदबाट हुन सक्ने काम अविलम्ब गर्नुपर्छ । ऐन कसरी जारी हुने भनेर मार्गचित्रसहित छलफल गरेर अगाडि जानुपर्छ भनेर सरकारसित भनेका छौँ ।’
आफूहरूको मागमा सरकार संवेदनशील नभएकाले कुरा मिल्न नसकेको सुवेदीको भनाइ छ ।
‘सरकार संवादमा बसे पनि संवेदनशील भएको छैन । त्यसैले आन्दोलन लम्बिरहेको छ । परिणाममा नपुगेसम्म आन्दोलन रोकिँदैन । यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने अभियानमा छौँ’, उनले भने ।
सुवेदीले आन्दोलनका मागहरू पूरा गर्न सरकारलाई वार्षिक झण्डै १३ अर्ब लाग्ने हिसाब सुनाए ।
उनले भने, ‘२ खर्ब खर्च लाग्छ भनेर हल्ला गनुभएको छ । अहिलेको शिक्षा क्षेत्रको जम्मा बजेट नै २ खर्ब हो । अहिले हामीले जुन कुरा उठाएका छौँ, त्यसलाई सम्बोधन गर्न एउटा आवमा १२ अर्ब ७५ करोड ४९ लाख मात्रै खर्च हुन्छ भनेर हामीले हिसाब निकालेका छौँ । राज्यका लागि यो ठूलो कुरा होइन । तर, इच्छा भएन भने दुई रुपैयाँ पनि पाँच रुपैयाँ पनि ठूलो हुन्छ ।’