काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) का सांसद भीम आचार्यले बजेटका नयाँ स्रोत खोज्न कार्यदल गठनको माग गरेका छन्।
सोमबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिएका आचार्यले राजस्वमा आधारित भएर मात्रै अब नहुने बताए।
‘वैदेशिक सहयोग र ऋणको आशा बिस्तारै मार्दै जानुपर्छ। संसारको ट्रेन्ड अलिक फरक पर्दै गयो। यस्तो अवस्थामा हामीले आफ्नो खुट्टामा उभिनुपर्ने भएको छ। यसमा अहिलेको राजस्व संकलनको परम्परागत जुन प्रक्रिया र तरिका छ, त्यसलाई हामीले बदल्नुपर्छ। एकदम निर्ममताका साथ बदल्ने, नयाँ स्रोतहरू खोज्ने हो। त्यसका लागि मैले के भनेको छु भने दह्रो कार्यदल बनाएर अरु के के स्रोत वैकल्पिक हुन्छन्, त्यो खोजौँ। राजस्वमा मात्रै आधारित भएर अब हामी अगाडि बढ्न सक्ने स्थिति छैन। ट्याक्सका नयाँ नयाँ सन्दर्भहरू खोज्नुपर्यो। त्यो नगरी हुँदैन, ’उनले भने।







