काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालयमा बसेको राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको बैठकले संघीय निजामती सेवा विधेयकमा कर्मचारीका माग समावेश गर्न आन्दोलनको घोषणा गरेको छ।
बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन उच्चस्तरीय आन्दोलन निर्देशक समिति, परिचालन समिति र प्रत्येक युनियनबाट ३-३ जना पदाधिकारी रहने सचिवालय समिति गठन गर्ने निर्णय गरेको छ। यही २०८२/०२/२० मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेला भई संघीय संसदको पश्चिम गेटमा धर्ना दिने र सोही दिन दिउँसो ३:०० बजे भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ।
बैठकमा नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कुमार कटुवाल, नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने, एकीकृत समाजवादी कर्मचारी संगठनका अध्यक्ष याम बहादुर खत्री, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट र स्वतन्त्र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष शरण कुमार गुरुङलगायतका पदाधिकारीहरूको उपस्थिति थियो।
केही दिनयता नेपाल निजामती कर्मचारी युनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएको छ। युनियनले सरकारले कर्मचारीका माग तत्काल सम्बोधन नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।







