काठमाडौँ । नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौँ केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने निर्णय गरेको छ । समितिमा आबद्ध ४५ दल, समूह र अभियानको आज भएको बैठकपछि सो निर्णय सार्वजनिक गरिएको हो ।
नवदुर्गा पार्टी प्यालेसमा भएको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित बनेका थिए । उनको अनुपस्थितिमा प्रश्न उठाउँदै केही कार्यकर्ताले होहल्ला गरेपछि बैठक बिना निष्कर्ष स्थगन गरिएको थियो । सोही बैठकको भावना अनुसार नयाँ कार्यक्रम निर्धारण गरिएको भन्दै सुबेदीले विज्ञप्ति जारी गरेका छन् ।
पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरूपमा परिवर्तन गरिएको उनले बताएका छन् । काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनहरू निरन्तर जारी रहने तथा देशका प्रमुख सहरहरूमा विरोध सभा, धर्ना र जनप्रदर्शन गर्ने जनाइएको छ ।
आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने निर्णय पनि गरिएको छ । देशका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गरेपछि फेरि काठमाडौं केन्द्रित हुने बताइएको छ ।
आजको बैठकले आन्दोलनका आगामी कार्यक्रममा विभिन्न पेशा, वर्ग लगायत निजामती, सेना र प्रहरीलाई पनि साथ दिन अपिल गरेको सुबेदीले बताएका छन् ।







