काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता तथा आवश्यक कागजात पूरा भएका आयोजना र कार्यक्रमको रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने स्पष्ट पारेका छन्।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा सचिव उपाध्यायले योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहजीकरणमा कुनै ढिलाइ नगर्ने धारणा राखे। उनले भने, “स्रोत सहमति भइसकेका तथा प्रक्रिया पुगेका आयोजनाको कार्यान्वयनमा सहयोग गर्न हामी तयार छौँ। आवश्यक परे बिदा र शनिवारका दिन समेत काम गरेर प्रक्रिया अगाडि बढाइनेछ।”
उनले सम्बन्धित मन्त्रालयका सचिवहरूलाई आवश्यक प्रक्रिया पूरा भएका र वास्तवमै कार्यान्वयन गर्न सकिने योजना तथा कार्यक्रम मात्र अर्थ मन्त्रालयमा पठाउन आग्रह गरे। “प्रक्रिया अपूरा, सम्भावना नदेखिएका योजनाका कागजातले अनावश्यक चाप बढाउँछ,” उनले भने, “त्यस्ता काम रोक्नुपर्छ।”
सचिव उपाध्यायले मन्त्रालयबीच समन्वय बढाएर चालु आर्थिक वर्षमा पुँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्नुपर्नेमा जोड दिए।







