काठमाडौँ । बुटवलमा ४० जना छात्रालाई नि:शुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ ।
बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरूलाई नि:शुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाऊ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।
एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राहरूले प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०-२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी बढाउ कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रूपमा अगाडि बढ्ने छ ।
छात्राहरूलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मद्दत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।







