काठमाडौँ । मधेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।
सोही मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद साह र एक करोड रुपैयाँ अनुदान लिएको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक लक्ष्मीनारायण साह पनि दोषी ठहर भएका छन् ।
विशेषका अध्यक्ष टेकबहादुर कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको बिहीबारको इजलासबाट उनीहरू दोषी ठहर भएका हुन् । तीनैजनालाई एक-एक वर्ष कैद र २५-२५ लाख रुपैयाँ जरिवाना र सोहीबराबरको बिगो असुल उपर हुने फैसला भएको छ ।
यही मुद्दाका प्रतिवादी कर्मचारीहरू अमरचन्द्र मण्डल, ब्रजेशकुमार साह, रंजिकुमार अधिकारी, अविनाशकुमार झा र विकासकुमार साहले सफाइ पाएका छन् ।
एक करोड कृषि अनुदान वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा सिंहसहितका कर्मचारी र कृषि फर्मका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।







