काठमाडौँ । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै कर्मचारी ट्रेड युनियनहरूले आजदेखि देशभरका कार्यालयहरूमा कालोपट्टी बाँधेर विरोध सुरु गरेका छन्।
नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले विधेयकको मस्यौदा संसदमा दर्ता नहुँदासम्म कालोपट्टी बाँधेर विरोध जारी राख्ने र दर्ता भएपछि थप कार्यक्रम तय गर्ने प्रशासनलाई जानकारी गराएका छन्।
संयुक्त ट्रेड युनियन सञ्जालले विभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको थियो । माग सम्बोधन नभए आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै सञ्जालले सरकारसँग संवादको प्रयास पनि जारी राखेको जनाएको छ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नभएको भन्दै ट्रेड युनियनहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन्।
उनीहरूको मागमा सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा ७ वर्षबाट घटाएर ५ वर्ष कायम गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एक पटक समायोजन छनोटको अवसर दिनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने र तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने लगायतका बुँदा समावेश छन्।







