काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराको बाम्का बजारमा भएको आगलागी पीडितलाई पुन:स्थापना गर्न सरकारसँग माग गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटेल पूर्णरुपमा नष्ट भएको जानकारी दिइन् ।
पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुन:स्थापनाको माग गर्दै सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठुलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताइन् ।
‘यही जेठ २३ गते बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भीषण आगलागी हुँदा १३ पसल र २ वटा होटेल सम्पूर्ण रूपमा नष्ट भएका छन् । ३४ वटा पसल र होटेलमा क्षति भएको छ,’ उनले भनिन्, ‘आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ । यो दु:खद् घटनाप्रति दुःख व्यक्त गर्दछु, पीडितहरूप्रति सहानुभूति प्रकट गर्दछु । पीडित व्यापारीहरूलाई राहत र क्षतिपूर्ति दिएर तुरुन्त पुन:स्थापना गर्न सरकारसँग जोडदार माग गर्दछु ।’







