एएफपी । उत्तर पश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगोको डुंगा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका छन्।
उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधवार भएको उक्त दुर्घटनामा तीनवटा ठुला डुंगाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए ।
“हामीले अहिलेसम्म दर्जनौँ जीवित व्यक्तिलाई उद्धार गर्नुका साथै ४० वटा शव फेला पारेका छौँ । अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्,” उनले एएफपीसँग भए । यसैबीच, उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए ।
उनले भने, “हिजो हामीले ५२ वटा शव फेला पारेका थियौँ, आज बिहान थप दुई जना मृत शरीर शव फेला परेका छन् ।”उक्त डुंगाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो ।
प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई डुंगाले एक्कासी ठुलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए ।
दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको उनीहरूले बताए । एमपुटुका अनुसार डुंगामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुंगामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ ।
प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तर दशकौँदेखिको द्वन्द्वको चपेटामा परेको अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा ताल र नदीमा बारम्बार डुंगा दुर्घटनाको पीडा व्यहोर्नेगरेको छ । यात्री सूचीको अनुपस्थितिले प्राय: खोजी र उद्धार कार्यलाई जटिल बनाउँदछ र मृत्युको सही सङ्ख्या पुष्टि गर्न असम्भव बनाउँछ।







