काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल रिङ् ब्याक टोन सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रिय दिवसहरू (संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस लगायत) वा नेपाल सरकार, मन्त्रिपरिषद्बाट राष्ट्रिय स्तरमा मनाउने निर्णय भएका विषयसँग सम्बन्धित सामग्री, विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग जोडिएका सूचना वा जानकारीमूलक सन्देशहरू सम्बन्धित निकायबाट मन्त्रालयमा अनुरोध प्राप्त भएमा नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक कम्पनीहरूलाई नि:शुल्क बजाउन अनुमति दिनेछ।
यस्तै, सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस, विशेष अवसर वा ती निकायसँग सम्बन्धित जानकारीमूलक सन्देश, धुन वा कुनै धर्म, जातजाति, भौगोलिक क्षेत्र वा समुदायको चाडपर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित शुभकामना सन्देश वा धुनका लागि भने सशुल्क सीआरबीटी बजाउन सकिनेछ। यस्तो सीआरबीटीको शुल्क नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गर्ने मन्त्रालयले जनाएको छ ।







