काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजनीतिक नेतृत्वले पद प्राप्त गरे लगत्तै नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्याएको बताएका छन्।
लोक सेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले यस्तो बताएका हुन्।
उनले लोकतन्त्र प्राप्तिपछि अहिले देखिएको निराशा र कुण्ठा अन्त्यका लागि लोकसेवा आयोग जस्तो निष्पक्ष संस्थाबाट राजनीति नेतृत्वबाट शिक्षा लिनुपर्ने आवश्यकता औँल्याए।
उनले निष्पक्षता र योग्यताको आधारमा कार्य गर्ने संस्थाले मात्रै जनतामा लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउन सक्ने उल्लेख गर्दै लोक सेवा आयोगको प्रशंसा गरे।
सभापति खतिवडाले संविधान कार्यान्वयनको लागि महत्त्वपूर्ण मानिएको संघीय निजामती विधेयक आजै संसदमा दर्ता गर्ने समेत जानकारी दिए।







