काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन्।
विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरवारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए।
विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने लिखित पत्र प्रस्तुत गर्दै आफूहरूले तोडफोडमा संलग्नलाई कारवाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरेका छन्।
असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको उनले अवगत गराए। निमित्त उपकुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरूलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको जानकारी दिए।
गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो।







