काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘सभामुखका बारेमा सुविधा अनुसारको व्याख्या’ भएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नाराबाजीका बीचमा संसद चल्नु राम्रो होइन तर के यो पहिलो पटक हो त ?’ विगतका प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले वेलमा नारा लगाएको उनले बताएका छन् ।
उनी अगाडि थप्छन्, ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एक पटक आफैलाई ऐनामा हेर्ने हो कि ?’
बसहका लागि भनेर उनले थप प्रश्नहरू समेत राखेका छन् । उनी प्रश्न गर्छन्, ‘कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमति कसरी बनाउने ? सहमतिको न्यूनतम आधार केलाई बनाउने ? बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक विषयमा सबैको सहमति हुनै पर्छ भन्ने ग्यारेन्टी कसले गर्न सक्छ ? बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने ?’
यी प्रश्नमा खुला छलफलका लागि उनको आग्रह छ । ‘आउनुहोस् छलफल गरौँ । सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापित गरौँ । अडानका नाममा प्रक्रियालाई बन्धक नबनाऊ । दोसी सभामुख हो की हाम्रो ईगो ?’ भट्टराईको अर्को प्रश्न छ ।







