काठमाडौँ। कैलाली कारागारमा अचेत अवस्थामा भेटिएर उपचारका क्रममा कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।
घटनाको अनुसन्धानका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकृत तहका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद र डेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समिति गठन गर्दै बैकिङ कसुर मुद्दाका अभियुक्त डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएका छन् ।
असार १ गते पक्राउ परेका पाली २ असारको राति कैलाली कारागारको बाथरुम नजिकै अचेत अवस्थामा भेटिएपछि तत्कालै उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।







