काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन् ।
उनले उपत्यका बाहेक तराईका जिल्लामा द्रुतमार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे । सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुतमार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ । मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरूलाई नेपाली सेनाका लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पारे ।
उनले भने, ‘काठमाडौँ–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ । म के जानकारी गराउन चाहन्छु भने काठमाडौँ बाहिरको तराईका सबै क्षेत्रको जमिनहरू लिने काम सबै सकिएको छ । यसका सबै प्रक्रियाहरू समाप्त भएको छ । त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ ।’
जलविद्युतहरूको सुरक्षा पनि नेपाली सेनाले गर्ने भए पनि जलविद्युत निर्माण गर्ने काम नगर्ने उनले बताए । भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रूपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भए पनि तत्काल कुनै काम अगाडि नसारिएको स्पष्ट पारे ।







