काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु. दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प्रतिशतले बढी हो ।
गत आव २०८०/८१ को (साउन-जेठ)मा रु. दुई अर्ब ६७ करोड २६ लाख ३१ हजार राजस्व संकलन भएको कर अधिकृत एवं सूचना अधिकारी डोरराज सुनुवार जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको उनले बताए ।
गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको ११ महिनाको लक्ष्यको ८५ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन भएको कर अधिकृत सुनुवारले बताए ।
कार्यालयले ११ महिनामा आयकरबाट रु. एक अर्ब रु. २६ करोड ५२ लाख, ब्याजबापत रु आठ करोड १६ लाख, मूल्य अभिवृद्धि करबापत रु. ९८ करोड २८ लाख ३१ हजार, अन्त:शुल्कबापत रु ५५ करोड १६ लाख ६७ हजार राजस्व संकलन गरेको छ ।
“कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ, यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायतका कानुनी कारबाही गर्ने गरिएको छ”, सूचना अधिकारी सुनुवारले भने ।
साथै कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये एक हजार ५८८ करदातालाई निलम्बन गरिएको सूचना अधिकारी सुनुवारले जानकारी दिए। आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको उनले बताए ।
कार्यालयका सूचना अधिकारी सुनुवारका अनुसार विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको बारेमा उद्योग वाणिज्य संघ, उपभोक्तालगायतलाई जानकारी गराइएको छ ।







