हङकङ । नेपाली महावाणिज्यदूतावास, हङकङका महावाणिज्यदूत डा. बिन्देश्वरप्रसाद लेखकले हङकङ र मकाउका नेपाली समुदायलाई आफ्नो पूँजी र ज्ञान नेपालमा लगानी गर्न अपिल गरेका छन्।
नेपाली महावाणिज्यदूतावास, हङकङद्वारा शुक्रबार नाथन रोडस्थित होटेल स्टेजमा आयोजित ‘इन्भेस्टिङ इन नेपाल २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै डा. लेखकले उक्त अपिल गरेका हुन्।
डा. लेखकले विदेशी लगानीका अवसरहरूबारे चर्चा गर्दै प्रवासी नेपाली समुदायको भूमिकामा जोड दिए। उनले भने, “हङकङको जीवन्त नेपाली समुदायसँग पूँजी र ज्ञानको सम्भावना छ, जसलाई नेपालको आर्थिक विकासमा उपयोग गर्न सकिन्छ।”
नेपालमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमार्फत पूर्वाधार लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्यात तथा लगानी प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाल लगानी बोर्डका मणिराम सिंह महतले पीपीपी मोडलका विशेषताहरू र नेपालका प्रमुख पूर्वाधार परियोजनाहरूबारे प्रस्तुति दिए।
साँझ ६ देखि ९ बजेसम्म चलेको उक्त कार्यक्रममा हङकङ र मकाउका व्यवसायी तथा युवा उद्यमीहरू सहभागी थिए। यात्रा, आतिथ्य, निर्माण, खाद्य, पेय र वित्त क्षेत्रका प्रतिनिधिहरूसहित काउलुन चेम्बर अफ कमर्स र स्थानीय जिल्ला अधिकारीहरू पनि उपस्थित रहेको नेपाली महावाणिज्यदूतावास, हङकङस्थित प्रशासन स्रोतले जानकारी दिएको छ ।
नन-रेजिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) हङकङ, नेपाल चेम्बर अफ कमर्स हङकङ र फेडेरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (एफआईएनवाईई) हङकङको सहयोगमा आयोजित यो कार्यक्रममा भर्चुअल र प्रत्यक्ष प्रस्तुतिपछि नेटवर्किङ रिसेप्सन पनि भएको थियो।
नेपाल सरकारले विदेशी लगानीमार्फत आन्तरिक लगानीको कमी पूर्ति गर्न र लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न नीतिगत प्रतिबद्धता जनाएको छ। प्रवासी नेपालीको ज्ञान र पूँजी स्थानान्तरणलाई प्रोत्साहन गर्ने आर्थिक कूटनीतिको हिस्साको रूपमा यो सेमिनार आयोजना गरिएको हो।
हङकङको नेपाली समुदाय, विशेष गरी युवा पेशाकर्मी र व्यवसायीहरूलाई लगानीका अवसर र प्रक्रियाबारे जानकारी गराउँदै उक्त कार्यक्रमले अनुभव आदान-प्रदान र नेटवर्किङको अवसर प्रदान गरेको अधिकारीहरूको भनाइ छ।







