काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मासिक रूपमा उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने कार्यक्रमको थालनी गरेको छ।
जेठ महिनाको उत्कृष्ट कर्मचारीका रूपमा शाखा अधिकृत नवराज अवस्थीलाई छनोट गरी मंगलबार एक समारोहमा सम्मान गरिएको प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले बताए।
राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने हेतुले जेठ महिनादेखि यो कार्यक्रम शुरू यो शुरुवात गरिएको कोइरालाले बताए ।
सम्मानित कर्मचारीको तस्बिर एक महिनासम्म कार्यालयमा राखिने उनले बताए ।
कोइरालाका अनुसार, जेठमा ३१ सिफ्टको कामकारबाहीमा अवस्थीले ३० सिफ्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनलाई नगद पुरस्कार र दोसल्ला प्रदान गरिएको छ।
कार्यालयको नीतिअनुसार, मासिक रूपमा एक अध्यागमन अधिकृत र त्रैमासिक रूपमा अन्य कर्मचारीमध्येबाट एक जनालाई उत्कृष्ट घोषणा गरी सम्मान गरिनेछ। सोहीअनुसार, त्रैमासिक सम्मानमा हल्का सवारी चालक मधु केसी सम्मानित भएका छन्।
हाल त्रिवि अध्यागमन कार्यालयमा सहसचिव स्तरको प्रमुखसहित १६१ कर्मचारी कार्यरत छन्। जसमा ६ उपसचिव, १२४ अध्यागमन अधिकृत वा सो सरह र १३ नायब सुब्बा वा सो सरहका कर्मचारी कार्यरत छन्।
यसैगरी सोही अवसरमा सवारी चालक मधु के.सी.लाई पनि सम्मान गरिएको छ ।








