काठमाडौँ। बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमाथि सांसद र दलहरूले उठाएका सवालको कार्यान्वयनमा सहमत भएको छ ।
आज बिहीबार दिउँसो प्रदेश सभा बैठक सञ्चालन पूर्व सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच बजेटमा देखिएका त्रुटि सच्याउनेदेखि अनाधिकृत रूपमा बजेटमा समावेश भएका आयोजाहरुमाथि छानबिन गर्न लिखित सहमति गरेको हो । लिखित सहमतिपछि मात्रै प्रदेशसभा बैठक ६ बजे सञ्चालन गरिएको थियो ।
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा, सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, राप्रपा संसदीय दलका नेता उद्धव थापालगायतका दलहरुबीच ८ बुँदे सहमति भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आव २०८२/०८३ को प्रदेश सभामा पेश भएको विनियोजन विधेयकमाथि देखिएका कमीकमजोरीलाई सच्याएर अगाडी बढ्ने दलहरुबीच सहमति भएको जानकारी दिए ।
लिखित सहमतिमा प्रदेश सभामा पेश भएको विनियोजन विधेयकमा भएका नीतिगत त्रुटिलाई आवश्यक परिमार्जन गरिने उल्लेख छ । अनाधिकृत रूपमा बजेट कार्यक्रममा समावेश आयोजनाहरूको आवश्यक छानबिन गरी मात्र कार्यान्वयन गर्ने र १० लाख भन्दा माथिका सबै आयोजनाहरू टेन्डर प्रक्रियाबाट कार्यान्वयन गर्ने सहमतिमा छ ।
बहुवर्षीय आयोजनाहरूमा अपुग भएको बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्ने र कम रकम भएका क्रमागत आयोजनाहरूमा आवश्यकताको आधारमा रकम थप गरी कार्यान्वयन गर्न सरकार सहमत भएको हो ।








