काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् ।
घोराही उपमहानगरपालिका-१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि आज बिहान ४ बजे प्रतिष्ठानमा ल्याइएकामा १० बजेसम्म सामान्य डेलिभरी हुने बताइए पनि नभएपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो ।
शल्यक्रियामार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु भएकाले चिकित्सकको कमजोरी भएको आफन्तहरूको आरोप छ । उनीहरूले अस्पतालको ‘अपरेसन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ ।
मृतकका ससुरा महावीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएकाले न्याय नपाएसम्म शव नउठाउने बताए । नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनीहरूको अडान छ ।
प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने बताए ।






