काठमाडौँ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच आज भेटवार्ता भएको छ।
भेटवार्तामा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरू सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
सो भेटघाटमा मध्य पहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरूको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह समेत गरेका छन्।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपद् जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिएका छन् ।
कोशी प्रदेश सरकार जलवायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको चर्चा गर्दै उनले कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेकाले जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने बताएका छन् ।
‘प्रदेश सरकार यी विषयहरूमा कसरी अगाडी बढ्ने भन्ने गहन छलफल गर्नु पर्ने अवस्थामा छौ,’ उनले भने, ‘यी र यस्ता प्रभावहरूका बारेमा सबै सरोकारवालाहरूसँग छलफल गर्न हामी चाहन्छौ ।’
आगामी आर्थिक वर्ष विश्व रामसार दिवसका अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् । थप काम गर्नका लागि सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको उनले जानकारी दिए ।
प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने पनि उनले बताए। संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ।







