काठमाडौँ । नेपालले श्रीलंकालाई पहिलो हाफमा ५-० गोलले अग्रता लिएको छ। साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको खेलको पहिलो हाफमा नेपालले ५ गोल गरेको हो।
पहिलो हाफमा नेपालका लागि पूर्णिमा राई र मिना देउवाले समान २-२ गोल तथा र समीक्षा मगरले १ गोल गरे। खेलको ८औँ मिनेटमा मिना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले सुशीला केसीको पासमा उत्कृष्ट प्रहार गर्दै बललाई गोलमा परिणत गरेकी थिइन्।
१३औँ मिनेटमा समीक्षा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। ४२औँ मिनेटमा नेपालका लागि मिना देउवाले व्यक्तिगत दोस्रो र नेपालका लागि तेस्रो गोल गरिन्।
पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा नेपालका लागि पूर्णिमा राईले चौथो गोल गरिन्। त्यसको १ मिनेट पश्चात् नेपालका लागि पुन पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि पाँचौँ गोल गरिन्।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल घरेलु टिम बंगलादेशसँग ३-२ ले पराजित भएको थियो।







