सल्यान । जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले जिल्लास्थित कारागारमा रहेका कैदी बन्दी तथा थुनुवाहरूलाई लक्षित गर्दै योगमार्फत तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालन गरेका छन्।
सुधार र पुनर्स्थापनाको सोचसहित कारागारभित्रका कैदी बन्दीको मानसिक सन्तुलन कायम राख्न र सकारात्मक जीवनशैलीप्रति अभिप्रेरित गर्न योग अभ्यास गराइएको प्रहरी स्रोतले जनाएको छ। प्रशिक्षणका क्रममा तनाव व्यवस्थापन, आत्म नियन्त्रण, अनुशासन र दैनन्दिन जीवनमा योगको प्रभावबारे जानकारी दिइएको थियो।
डिएसपी डा. केसीले कारागारभित्र शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्नुका साथै आत्म चिन्तन र सुधारको वातावरण निर्माण गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए। प्रशिक्षणमा सहभागी कैदीबन्दीले समेत यस खाले कार्यक्रमले मानसिक शान्ति र आशावादी सोच विकास गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए।

हालै सल्यानको प्रहरी नेतृत्व सम्हालेका डा. केसी जिल्लामा सक्रिय र प्रभावकारी प्रहरी प्रशासनको नमुना प्रस्तुत गरिरहेका छन्। आज मात्रै उनले बाबियाचौर–सल्यान सडकखण्डको पाँच किलोमिटर क्षेत्रमा सडक सुधारको नेतृत्व लिँदै नाला खन्ने र खाडल पुर्ने काम सम्पन्न गरेका थिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट सरुवा भई आएका डा. केसी.ले सोमबार मात्रै कार्यालयमा हाजिर भएका थिए ।







