काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ सदस्यीय अन्तरराष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ ।
आज राष्ट्रिय युवा परिषद्ले सानोठिमीस्थित परिषद्को कार्यालयमा आयोजना गरेको बहुपक्षीय सरोकारवालाको भेलाले मन्त्री चौधरीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो ।
हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वव्यापी रूपमा मनाइने अन्तरराष्ट्रिय युवा दिवसलाई भव्य रूपमा आयोजना गर्ने उद्देश्यले परिषद् अध्यक्षसमेत रहेका मन्त्री चौधरीको नेतृत्वमा समिति गठन गरेको हो ।
साउन २७ गते हुने अन्तरराष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ मनाउन समिति गठन गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
समितिमा विभिन्न आठ मन्त्रालयका सचिवहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक, नेपाल स्काउटका प्रमुख आयुक्त, प्रदेश युवा परिषद्का उपाध्यक्षसहितका प्रतिनिधि रहनेछन् ।
समितिमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरूका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, गैरसरकारी संस्था महासंघ नेपाल, हिसान, प्याब्सन, एनप्याब्सनलगायतका विभिन्न निकायको प्रतिनिधि पनि रहने व्यवस्था गरिएको छ ।
समितिमा विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि, परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहने निर्णय भएको छ ।
समितिले सन् २०२५ का लागि संयुक्त राष्ट्रसंघले अघि सारेको मूल नारालाई नेपालीकरण गरी‘दिगो विकास र सुनौलो भविष्यको सार स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारा तयार गरेको छ ।







