काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती सेवा विधेयकमा संशोधनको विषयमा सांसदहरूलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन्।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सत्तारुढ दल नेपाली काँग्रेसकै सांसदहरूले फरक संशोधन राखेको भन्दै प्रश्न उठाएको उल्लेख गर्दै उनीहरूमा विधायिकी ज्ञानको कमी रहेको बताए।
उनले काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामती विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न आग्रह गरे।
बर्तौलाले कानुन निर्माण प्रक्रियामा पार्टीको ह्विप नलाग्ने भएकाले सांसदको स्वतन्त्र अधिकार भएको बताए।
“निजामती विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरूको विशेषाधिकारको कुरा हो,” उनले भने, “यसमा किन यस्तो संशोधन हासिल भनेर धम्क्याउने, सरकारमा दरार आउँछ भन्ने कुरा एकदम गलत हो। विधायिकी कुरामा पार्टीको ह्विप पनि लाग्दैन।”
प्रतिनिधि सभाबाट पास भएको संघीय निजामती सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा पुगेको छ। उक्त विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ को व्यवस्था खारेज गर्न एमाले सांसदहरूले संशोधन हालेका छन्।







