सानो गाउँ, सानो कोठा, तर ठूलो सपना-भट्टराई दाजुभाइको संघर्षमय यात्राले युवाहरूलाई सफलता तर्फको मार्ग देखाएको छ ।
काठमाडौँ । ‘संघर्षले नै मानिसलाई सफलतामा पुर्याउछ’ भन्ने पुरानै भनाइलाई खोटाङको बुइपाका तीन दाजुभाइहरूले जीवन्त बनाएका छन् । खगेन्द्र भट्टराई, ज्ञानेन्द्र भट्टराई र योगेन्द्र भट्टराई-यी एकै परिवारका छोराहरूले अभाव, संघर्ष र सीमितताबीच बाटो खोलेर सरकारी सेवामा प्रवेश गरे । उनीहरू गाउँका लागि मात्र होइन, देशका युवाहरूका लागि पनि प्रेरणाको स्रोत बनेका छन् ।
उनीहरूको बाल्यकाल सहज थिएन । बुवा मित्रलाल भट्टराई वैदेशिक रोजगारीको आशमा विदेशिए पनि उल्लेखनीय आम्दानी नहुँदा स्वदेश फर्किएर खेतीपातीमा लागे । आफ्नै जमिन थोरै थियो, तर छोराहरूको पढाइ रोकिन नदिन उनले अरूको खेतमा श्रम गरे ।
तीन दाजुभाइको शिक्षा यात्रा गाउँको सामान्य विद्यालयबाट सुरु भएको हो । पछि काठमाडौं आएर सानो कोठामा अनेक अभाव सहँदै पढाइलाई निरन्तरता दिए । त्यही संघर्ष, धैर्य र अडानले उनीहरूलाई आज राष्ट्र सेवामा पुर्याएको हो ।
तीन दाजुभाइको तीन थरी सफलता
भट्टराई परिवारका जेठा छोरा खगेन्द्र भट्टराई हाल ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लेखा अधिकृत (छैटौँ तह) पदमा कार्यरत छन् । उनले २०७६ सालमा नियुक्ति पाए ।
अर्का छोरा ज्ञानेन्द्र भट्टराई डोल्पाको ठुली भेरी नगरपालिकामा नायब पशु सेवा प्राविधिक (चौथो तह) पदमा कार्यरत छन् । उनले २०७९ सालमा सरकारी सेवा प्रवेश गरेका हुन् ।
यस्तै अर्का छोरा योगेन्द्र भट्टराई सिन्धुलीको गोलन्जोर गाउँपालिकामा लेखापाल (पाँचौँ तह) पदमा कार्यरत छन्। उनले २०८१ सालमा नियुक्ति पाएका हुन् ।
यी सबै नियुक्ति लोक सेवा आयोगमार्फत भएका हुन्, जुन प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियामार्फत चयन गरिन्छ । यसले उनीहरूको अध्ययन, मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धता स्पष्ट पार्छ ।
छोराहरू सरकारी सेवामा पुगेपछि सबैभन्दा बढी खुसी भएकी छिन-आमा रिता भट्टराई । उनले भनिन्, “दुःख सहेर छोराहरूको पढाइमा सघाएँ, उनीहरूले आमाबुबाको मिहिनेत खेर जान दिएनन् ।” उनको लागि यो केवल छोराहरूको सफलता होइन, आफ्नै जीवनको सार्थकता हो । छोराहरूलाई विद्यालय पठाउनेदेखि काठमाडौं ल्याउने, बसोबासको जोहो गर्ने सबै जिम्मेवारी उनले उठाइन् ।
गाउँका लागि प्रेरणाको मुहार
भट्टराई दाजुभाइहरू अहिले गाउँका युवाका लागि प्रेरणा बनेका छन् । अभावबीच पनि आत्मविश्वास गुमाउनु हुँदैन, नियमित अध्ययन गर्नुपर्छ, लक्ष्यप्रति प्रतिबद्ध भइ अघि बढे सफलता अवश्य प्राप्त हुने उनीहरूको भनाइ छ । अहिले गाउँका धेरै अभिभावक र युवाहरूले उनीहरूलाई उदाहरणका रूपमा हेर्न थालेका छन् ।
कुनै समय छोराहरू पढाउन नसकिने भन्दै चिन्तामा रहेका अभिभावक आज उनीहरूलाई सरकारी सेवामा देखेर गर्व गर्छन् । खगेन्द्र, ज्ञानेन्द्र र योगेन्द्र भट्टराईले मात्र आफ्नो परिवारको सपना पूरा गरेका होइनन्, उनीहरूले देशभरका युवालाई लक्ष्य निर्धारण, निरन्तरता र संघर्षको मूल्य सिकाएका छन् ।







