काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले मन्त्रालयका सचिवहरूलाई लेखा परीक्षणको प्रक्रिया सिकाउन आवश्यक देखिएको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा रायाले सचिवहरूले ‘त्यत्तिकै लेखियो,’ ‘छलफल नै भएन’, ‘प्रक्रिया मिलाउनै गाह्रो भयो’ जस्ता गुनासो गरिरहेको उल्लेख गर्दै लेखा परीक्षणसम्बन्धी ज्ञान अभाव भएको औँल्याए।
उनले सचिवहरूलाई लेखा परीक्षणका क्रममा अपनाइने विधि र प्रक्रिया बुझाउने खाँचो रहेको बताए। रायाले भने, “प्रक्रिया आफै बनाउने, अनि पछि प्रक्रिया मिलाउन गाह्रो भयो भन्न मिल्दैन। हामीले प्रक्रिया बनाएका हौँ, सायद मन्त्रीज्यूहरूले क्याबिनेटबाट अनुमोदन गर्नुभएको होला, तर प्रक्रिया त सचिवहरूले नै तयार पार्ने हो। अन्ततः पुर्याउनै नसकिने कार्यविधि किन बनाइएको रु यदि प्रक्रिया पुरा गर्न सकिएन भने त ६० प्रतिशतसम्म बेरुजु देखिन सक्छ।”
उनले लेखा परीक्षणको क्रममा केही सचिवहरूले ‘यस्ता प्रश्न सोध्ने हो कि होइन मलाई थाहा भएन’ भन्ने प्रतिक्रिया दिएको उल्लेख गरे। रायाले सचिवहरूलाई करसम्बन्धी सूचनामा करको प्रतिशत तोकेर लेख्नुको सट्टा, प्रचलित कानुनअनुसार कर लाग्ने उल्लेख गर्न सुझावसमेत दिए।
उनले थपे, “मैले लेखा परीक्षण गर्दा सचिवज्यूहरूलाई के-के प्रक्रिया अपनाइन्छ भन्ने जानकारी दिनैपर्छ भन्ने ठानेको छु। प्रक्रियाका कतिपय बुँदाले अन्ततः बेरुजु देखाउने जोखिम रहन्छ।”
महालेखा परीक्षक रायाले २०७२ साल अघिका बेरुजुहरू खारेज गर्नु उचित हुने धारणा समेत सार्वजनिक लेखा समितिमा व्यक्त गरेका छन्।







