काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक पुनः सुरु भएको छ ।
दिउँसो स्थगित भएको बैठक साँझ पुनः सुरु भएको हो । सिंहदरवारस्थित समितिको सभाकक्षमा सुरु बैठकमा समितिमा रहेका सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरू रहेका छन् ।
यसअघि प्रतिपक्षी दलहरू दुई बुँदे बटमलाइन राखेर बाहिरिएका थिए । प्रतिपक्षी दलहरू बाहिरिएपछि सत्तापक्षका सांसदहरूले आन्तरिक छलफल गरेका थिए ।
साँझ दुवै पक्षको संयुक्त छलफल सुरु भएको हो । समितिमा रहेका सदस्यहरूका अनुसार साझा प्रतिवेदन तयार गर्ने प्रयास जारी छ ।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदन लेखन कार्यमा गम्भीर त्रुटि भएको सबैले स्वीकार गरेपछि त्यसअनुसार बाँकी विषयमा फरक–फरक रायसहित प्रतिवेदन तयार गर्नु उचित नरहेको दुवै पक्षका सदस्यहरू बताएका छन् ।







