२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविवाहले लुट्यो किशोरीको बालपन, शिक्षा र भविष्य

अ+ अ-

कर्णालीमा बालविवाहले किशोरीहरूको जीवनमा गम्भीर स्वास्थ्य, शैक्षिक र मानसिक असर पारेको छ । कम उमेरमै गर्भवती हुँदा मृत्यु जोखिम बढेको छ । धेरै बालविवाह कानूनी दायराबाट बाहिर छन् । बालमैत्री समाज निर्माणमा कडा चुनौती देखिन्छ ।

सुर्खेत । बराहताल गाउँपालिका-१० फिनिकाँडा सुर्खेतकी २५ वर्षीया कल्पना सुनारको धेरैजसो दैनिकी अस्पतालमै बित्ने गर्छ । अस्पताल धाइरहने उनको समस्या भनेको ढाड दुख्ने, पेट चस्किने हो । उनको स्वास्थ्य समस्याको मूल जड भनेकै कलिलै उमेरको विवाह हो । “सानै उमेरमा विवाह भयो, अहिले त्यसैको सजाय भोग्दै छु”, उनले भने । 

कल्पनाले १७ वर्षको उमेरमा प्रेम विवाह गर्नुभयो । कक्षा ८ मा पढ्दै गर्दा आफ्नै फुपूको छोरासँग उनको माया बस्यो । उनी भन्छिन्, “पहिला त उहाँलाई घरमा माग्न बोलाए, आउनु पनि भयो, तर बुवाले छोरीको विवाह गर्ने उमेर भएको छैन भन्दै फिर्ता पठाइदिनुभयो, त्यसपछि हामीले भागेर विवाह गर्‍यो ।” उनका अहिले चार वर्षको छोरी र दुई वर्षको छोरा छन् । 

विवाहपछि उनको पढ्ने इच्छा अधुरै रह्यो । कल्पनाले भनिन, “विवाह अघि त पढाइदिन्छु भन्नुहुन्थ्यो, विवाहपछि मलाई पनि घरको जिम्मेवारीले थिच्यो, पढ्ने फुर्सद नै भएन, त्यति बेला अल्लारे कच्चा दिमाग थियो, भागेर बिहे गरेँ, अहिले उमेर बढ्दै जाँदा थाहा हुँदैछ, कति ठूलो गल्ती भयो ।” सानै उमेरमा गरेको विवाहले सजाय भोग्नुपरेको उनी बताउँछिन् ।

जुम्लाको सिञ्जा गाउँपालिका-६, झाडा गाउँकी बसमा बुढा (रावत) ले पनि तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतोपानी बग्ने र पाठेघर खस्ने समस्या झेलिरहेकी छिन् । “पहिला त केही लागेको थिएन, अहिले मात्रै थाहा हुँदैछ, यो सबै बालविवाहकै असर हो”, उनी भन्छिन्, ‘‘त्यो बेला बुझिनँ, अहिले बुझिरहेकी छु, मेरो जीवनमा थपिएको पीडाको जड बालविवाह हो ।”

उनले कक्षा ९ पढ्दै गर्दा १६ वर्षको उमेरमा भीमबहादुर रावतसँग प्रेम विवाह गरिन् । उनका जेठा छोरा १० वर्षका छन् भने कान्छा सात वर्षका छन् । उनले भनिन, “म अझै ठुली भएको पनि थिइनँ, दुई सन्तानकी आमा बनेँ ।” विवाहकै कारण उहाँको पढाइ रोकियो । बालविवाह गरेकै कारण उहाँले बाल अधिकार, शिक्षा र भविष्यका सपना सबै गुमाउनुभयो । उहाँले स्थानीय वडाबाट दिने बाल भत्ता जस्तो सरकारी सुविधाबाटसमेत वञ्चित हुनुपर्‍यो ।  

माथि उल्लेखित प्रतिनिधिमूलक पात्रका कथा केवल उनीहरूको पीडा होइन । यो कर्णालीका किशोरीहरूको प्रतिनिधित्व हो । जसको जीवनमा बालविवाहले पीडामाथि पीडा थुपारिएको छ । बालविवाह गरेकाहरूले पीडादायी स्वास्थ्य समस्या झेल्नु त परेकै छ । कयौँले ज्यानसमेत गुमाउनु परिरहेको छ । त्यसमध्येकी एक  वीरेन्द्रनगर-६ की १८ वर्षीया शर्मिला सुनार छिन् । सुत्केरीपछि रक्तस्राव बढी भएका कारण उनले ज्यानै गुमाउनुपर्‍यो । 

सुत्केरी व्यथा लागेपछि शर्मिलालाई २०८१ असोज ६ गते प्रदेश अस्पताल पुर्‍याइएको थियो । बच्चाको गर्भमै मृत्यु भइसकेको थियो । शर्मिलाको शल्यक्रिया गरी बच्चा निकालिएको थियो । अस्पतालले उनका आफन्तलाई ज्वरो र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जानकारी दियो । उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए । 

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ३७ दशमलव नौ प्रतिशत बालविवाह हुने गरेको छ । नेपालमा पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । कर्णालीमा भने १८ वर्ष नपुग्दै विवाह गर्नेको सङ्ख्या ३७ दशमलव नौ प्रतिशत छ । 

सरकारी तथ्याङ्कले पनि कर्णालीमा कलिलो उमेरमा आमा हुनेको सङ्ख्यामा कमी आउन नसकेको देखाउँछ । प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २०७९ यता कर्णालीका अस्पताल तथा घरमा सुत्केरी हुने किशोरी आमा अर्थात् २० वर्षमुनिका १६ हजार ४२ जना छन् । आर्थिक वर्ष २०७९/८० मा छ हजार ४५७, २०८०/८१ मा पाँच हजार ५४४ र २०८१/८२ मा चार हजार ४१ जना २० वर्ष नपुग्दै आमा बनेका छन् । 

यो तथ्यांकले कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको देखाउँछ । कर्णालीमा पाठेघर (आङ खस्ने) समस्यासँग जुधिरहेका महिलाको सङ्ख्या सात हजार २६२ छ । प्रदेश अस्पताल सुर्खेतको तथ्यांकले २० वर्ष मुनिका किशोरी आमा बन्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । आव २०७९/८० मा अस्पतालमा सुत्केरी भएका २० वर्ष मुनिका किशोरी आमाको सङ्ख्या ८८७ छ । यस्तै २०८०/८१ मा ८६५ र २०८१/८२ मा ६१५ छ ।  

प्रदेशमा सुत्केरी हुने क्रममा १८ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क बितेका तीन वर्षको हो । तीमध्ये  २० वर्ष मुनिको चार किशोरी हुन् । जुन कलिलै उमेरमा विवाह र त्यसपछि आमा बन्नुको परिणाम हो । शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा ललितजङ्ग शाही बताउँछन् ।

उनका अनुसार १९ वर्षभन्दा मुनिका किशोरीमा शारीरिक विकास पूर्ण नहुँदै बच्चा जन्माउँदा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर दुवै बढ्छ । “कम उमेरमै गर्भवती हुँदा शरीर बच्चा जन्माउन तयार हुँदैन”, डा. शाही भन्छन्,  “त्यसैले सुत्केरी अवस्थामा अत्यधिक रक्तस्राव, उच्च रक्तचाप, ज्वरोजस्ता जटिलताले आमा र बच्चाको ज्यान जोखिममा पर्छ ।”

कम उमेरमा गर्भवती भएका महिलामा एमेनिया (रक्त अल्पता) देखिने सम्भावना धेरै हुन्छ । खानपान र पोषणमा ध्यान नदिँदा रक्त अल्पता हुने गर्छ । कम उमेरकी आमाबाट जन्मिने बच्चामा कुपोषण, कमजोरी र नवजात शिशु मृत्युदर उच्च हुने गरेको छ । 

“बालविवाहका कारण शारीरिक मात्र नभई मानसिक समस्यासमेत देखिन्छ”, डा शाही भन्छन्, “कम उमेरमा आमा बनेका किशोरीहरूमा डर, चिन्ता र एक्लोपन बढ्छ, पढाइ बीचमै छाड्नुपर्ने भएकाले स्वास्थ्यबारे जानकारीको कमी रहन्छ र उनीहरू थप जोखिममा पर्छन् ।” 

नेपालमा सुत्केरी मृत्युको प्रमुख कारण प्रसूतिपछि अत्यधिक रक्तस्राव रहेको डा. शाहीले बताए । उनका अनुसार गर्भकालमा ब्लड प्रेसर, सुगर वा थाइराइडजस्ता समस्या पत्ता नलाग्दा वा समयमै उपचार नपाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ । 

“स्वस्थ महिलामा सुत्केरी अवस्थामा मृत्यु हुने सम्भावना न्यून हुन्छ”, डा. शाही भन्छन्, “तर समयमै परीक्षण र तयारी नगर्दा अनाहकमा ज्यान जाने जोखिम रहन्छ ।” उनका अनुसार अस्पतालमा २० वर्ष मुनिका गर्भवती किशोरी धेरै आउने गरेका छन् । बच्चा जन्माउन सफल भएका कतिपय किशोरी आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखा पर्ने गरेको डा. शाहीको भनाइ छ ।

बाल विवाहविरुद्धको साझा अभियान सञ्जालका अभियान संयोजक चेतन गिरीले कर्णालीमा पछिल्लो समय अभिभावकले भन्दा पनि बालबालिका आफैले विवाह गर्ने क्रम बढेको बताए । बालविवाह हुने धेरैजसो दलित समुदाय रहेको उनको भनाइ छ । कर्णालीमा सबैभन्दा धेरै बादी समुदायमा बालविवाह हुने उनको दाबी छ । “दोस्रोमा क्षेत्री, ब्राह्मण र तेस्रोमा जनजातीमा बालविवाह हुने गरेको देखिन्छ”, उनले भने । 

कर्णालीमा ८० प्रतिशत बालविवाहको कारण अभिभावकको घर झगडा नै रहेको गिरीको भनाइ छ । उनी भन्छन्, “बुवा आमा भारतमा रोजगारीका लागि जाने र गाउँमा बालिका एक्लै असुरक्षित हुने हुँदा बालिकाहरूले सानै उमेरमा विवाह गर्ने गरेका देखिन्छ ।” बालबालिकामा शिक्षा र चेतनाको कमी, मनोसामाजिक परामर्श नपाउँदा बालविवाह गर्ने निर्णयमा पुग्ने गरेको उनको भनाइ छ । 

नेपालको कानुनले बालविवाहलाई जघन्य अपराधका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ । धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउने कार्यमा दण्ड सजाय हुने व्यवस्था कानुनले गरेको छ । 

यस्तै मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ । कानुन विपरीत भएको विवाह स्वतः बदर हुने अधिवक्ता गीता कोइराला बताउँछिन्। “बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवानाको व्यवस्था छ, मुलुकी देवानीसंहिता २०७४ ले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको हुनुपर्ने अन्यथा उमेर नपुगी गरेको विवाह स्वतः बदर र त्यस्तो विवाह अमान्य हुने गरी परिभाषित गरेको छ”, उनले भनिन, “कर्णालीमा कानुनी दायरामा आएका बालविवाहभन्दा समाजमा लुकेका बालविवाह धेरै रहेका छन् ।”