काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भाद्रको पहिलो साता काठमाडौँमा ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने भएको छ ।
समितिले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै वन, परराष्ट्र, राष्ट्रिय योजना आयोगको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा आगामी भाद्र २ र ३ गते काठमाडौँमा हिन्दु कुश हिमालय संसदीय सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने सम्मेलनमा नेपालका साथै भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागिता रहने समितका सदस्य सांसद वीरबहादुर बलायरले जानकारी दिए ।
सम्मेलनमा क्रममा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा छलफल हुने उनले बताए ।
हिन्दु कुश क्षेत्रमा जैविक विविधताको क्षति, वायु प्रदूषण, तीव्र आर्थिक तथा सामाजिक परिवर्तनले मानव जीवनमा पारेको गम्भीर असरहरू बारे ज्ञान आदान-प्रदान गर्न आयोजना लागेको सम्मेलन निकै महत्त्वपूर्ण हुने समितिले जनाएको छ ।
वातावरणमा आइरहेको परिवर्तनले हिमालय क्षेत्रमा परिरहेको प्रभावका विषयमा सम्मेलनमा छलफल हुने समिति सभापति कुशुमदेवी थापाले जानकारी दिइन् ।







