काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारिक वेबसाइट मंगलवार दिनभर अवरुद्ध रह्यो।
बिहानैदेखि दुवै निकायका वेबसाइटमा समस्या देखिएपछि सर्वसाधारण, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमले आवश्यक सूचनामा पहुँच पाउन सकेका छैनन्। वेबसाइटमा प्रवेश गर्न खोज्दा ‘निषेधित’, ‘तपाईँलाई यो सर्भरमा पहुँच गर्ने अनुमति छैन’ जस्ता सूचनाहरू देखिने गरेको छ।
यसबारे दुवै निकायले अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्।
दुवै निकायका वेबसाइटमा कानुन, नीतिगत कागजात, सार्वजनिक जानकारी, पदाधिकारी विवरण तथा समाचार अद्यावधिकजस्ता महत्त्वपूर्ण सामग्रीहरू राखिएका हुन्छन्। वेबसाइट लामो समयसम्म बन्द रहँदा नागरिक सेवा प्रवाह र सूचना पारदर्शितामा नकारात्मक असर परेको सरोकारवालाहरूको भनाइ छ।







