काठमाडौँ। रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र बुटवलका नवीन पौडेललाई खबर गरेका थिए ।
त्यसपछि भैरहवा पुगेर उक्त सर्पलाई मानव बस्तीबाट टाढा सुरक्षित स्थानमा लगेर छाडेको उद्धारकर्ताहरूले बताएका छन् ।
रसेल्स भाइपर विश्वका सबैभन्दा विषालु र खतरनाक सर्पमध्ये ७ औँ स्थानमा छ ।
यो सर्पको विष मानव शरीरको हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुन्छ ।
रसेल्स भाइपरको शरीरमा खैरोदेखि पहेँलो-खैरो पृष्ठभूमिमा ठुला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छन् । जसको किनार सेतो–फिका पहेँलो रेखाले घेरिएको हुन्छ । त्यसैले धेरै जना यसलाई देख्दा अजिंगर सर्प भनेर झुक्किने गर्छन् ।
सर्प उद्धारकर्ता पाण्डे र पौडेलले यो वर्ष रुपन्देहीमा एउटै घरबाट २३ वटासम्म विषालु गोमन सर्पसहित तीन सय बढी सर्प घरबाट उद्धार गरेर सुरक्षित स्थानमा छाडेका छन् ।







